रे समाचार/काठमाडौं । केही दिनदेखि घट्दो क्रममा रहेको शेयर बजारमा आज ठूलो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा झरेको छ । यसअघि पनि नेप्से सूचक २०५० विन्दुसम्म झरेर फर्किएको थियो । आज शेयर बजारमा भारी गिरावट आए पनि कारोबार रकम भने बढेको छ ।
आज २ अर्ब ६८ करोड रुपैयाँ बराबरको ८० लाख कित्ता शेयर कारोबार भएको छ । आज सबै बाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । तेस्रो त्रैमाससम्ममा खराब कर्जा बढिरहेको बैंकहरुको चौथो त्रैमासमा पनि वित्तीय विवरण प्रभावित हुनसक्ने आँकलन गरिएको थियो । तर बैंकहरुले खराब कर्जामा सुधार गर्दा उनीहरुको नाफा सन्तोषजनक देखिएको छ । तर पनि बैंकहरुको वित्तीय विवरणले लगानीकर्तालाई तान्न सकेन । आकर्षक नाफा कमाउने केही बैंकको शेयरमूल्य बढे पनि अन्य बैंकहरुको शेयरमा लगानीकर्ताको आकर्षण खासै देखिएन ।
आजको बजारमा भरखरै आइपीओ जारी गरेर सूचीकृत भएका आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडयाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने राम्रो वित्तीय विवरण पस्किएको कृषि विकास बैंकको शेयरमूल्य ६.७३ प्रतिशतले बढेको छ । प्रोगेशिभ फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.५९ प्रतिशतले घटेको छ भने अभियान लघुवित्तको शेयरमूल्य ८.०४ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ७.१४ प्रतिशतले घटेको छ ।
आज सानिमा बैंक, एभरेष्ट बैंक, एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट र ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । आज १३ वटै उपसमूहको सूचक नकारात्मक भएका छन् । जसमा होटल उपसमूहको सूचक सबैभन्दा धेरै ३.५९ प्रतिशतले घटेको छ ।