रे समाचार/काठमाडौं । आज पनि शेयर बजार घटेरै बन्द भएको छ । हिजो ३८ अंक घटेर बन्द भएको नेप्सेले आज पनि गिरावटलाई नै निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ३.२१ अंक घटेर २०४८.२६ विन्दुमा झरेको छ । १३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढे पनि नेप्से परिसूचक घटेको छ । आज बैंकिङ्ग, जलविद्युत, लगानी र अन्य उपसमूह घटेका छन् ।
आज विकास बैंक, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी वृद्धि भएका छन् । वाणिज्य बैंक उपसमूहको परिसूचक आज सर्वाधिक ०.९४ प्रतिशत घटेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ । हिजो साढे २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज २६७ स्टकको १ लाख १ हजार २३६ पटकको कारोबारमा २ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको ६६ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज नेपाल रिपब्लिक मिडियाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, गोर्खाज फाइनान्सको शेयरमूल्य ९.७४ प्रतिशत बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.४५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नेपाल रिपब्लिक मिडियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको साढे ७ करोडको शेयर कारोबार भएको छ ।