RayNewsDaily
शेयर बजारमा उल्लेख्य वृद्धि

रे समाचार/काठमाडौं । पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार आज भने बढेर बन्द भएको छ । कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको शेयर बजार मापक नेप्से अन्तिम समयमा भने बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ४१.०६ अंक बढेर २०६०.९१ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ । हिजो १ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएकोमा आज २६५ स्टकको ७७ हजार ५०१ पटकको कारोबारमा १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको ५० लाख १० हजार कित्ता शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ ।

व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने विकास बैंक, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको आज १५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको करिब साढे ८ करोडको शेयर खरिदबिक्री भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज सर्वाधिक ९.८३ प्रतिशत बढेको छ । त्यस्तै, सुपर मादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update