RayNewsDaily
राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध भएको छ । एक क्वीन्टल सुनकाण्डमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग राखी संसद् अवरुद्ध गर्दै आएको एमालेलाई आज सत्ता पक्षका सांसदहरुले पनि साथ दिएका थिए । प्रतिपक्षी सांसदसँगै सत्तापक्षका सांसद पनि उभिएपछि राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको हो ।

आजको बैकमा सुरुमा दलीय आधारमा सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा अगाडि बढाउन खोजेपछि एमालेका सांसदहरुले उठेर अवरोध गरे । तिमिल्सिनाले एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिनुभयो तर सत्ता पक्षका सांसदहरु पनि उठेर विरोध गरे । १० मिनेटभन्दा बढी समय प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरु आ आफ्नो स्थानमा उभिएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन ।अध्यक्ष तिमिल्सिनाले कार्यसूचीलाई अगाडि बढाउन आग्रह गर्नुभए पनि दुवै पक्षका सांसदहरु नबसेपछि कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक नै स्थगित भएको घोषणा गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक साउन ३१ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update