RayNewsDaily
शेयर बजार दोहोरो अंकले घट्यो

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सामान्य अंक बढेर बन्द भएको शेयर बजार मापक नेप्से आज पनि पुनः घट्न थालेको हो । आज नेप्से परिसूचक २१.९९ अंक घटेर २०११.१४ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन १ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएकोमा आज २६९ स्टकको ४३ हजार ३४६ पटकको कारोबारमा १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

शेयरमूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर कम रहेको छ । आज सबैभन्दा बढी शेयरमूल्य बढेको कम्पनी फरवार्ड लघुवित्त रहेको छ । सो लघुवित्तको शेयरमूल्य ४.५७ प्रतिशत बढेको छ । त्यस्तै, आरएसडिसी लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढेको छ । आज कृषि विकास बैंकको ऋणपत्र नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरी र ज्योति विकास बैंकको साढे ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । सोल्टी होटलको पनि आज ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ । होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update