RayNewsDaily
आज पनि घट्यो शेयर बजार

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज पनि शेयर बजार घटेरै बन्द भएको छ । हिजो करिब २२ अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज बजार घटेसँगै नेप्से परिसूचक २००० विन्दुभन्दा तल झरेको छ ।

नेप्से परिसूचक करिब साढे २ महिनापछि २००० विन्दुभन्दा तल बन्द भएको हो । यसअघि नेप्से परिसूचक गत जेठ २९ गते २००० विन्दुभन्दा तल बन्द भएको थियो । आज नेप्से परिसूचक १२.९३ अंक घटेर १९९८.२८ विन्दुमा बन्द भएको छ । आज २७२ स्टकको ३९ हजार ४२५ पटकको कारोबारमा १ अर्ब ४० करोड ८९ लाख रुपैयाँ बराबरको ४१ लाख ६३ हजार

नेप्से ओरालो लागे पनि आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सामलिङ्ग पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक ७.९९ प्रतिशत घटेको छ । त्यसैगरी, आज हिमालयन पावर पार्टनर, भूगोल इनर्जी, बलेफी हाइड्रोपावर लगायतका स्टकहरुको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ८ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आइएमई लाइफ इन्स्योरेन्स र सोल्टी होटलको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ । त्यस्तै वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update