RayNewsDaily
शेयर बजार दोहोरो अंकले वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेर बन्द भएको छ । हिजो सामान्य अंक बढेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक २९.४७ अंक बढेर २०४५.४५ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ ।

हिजो १ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएकोमा आज २७३ स्टकको ४४ हजार ३४० पटकको कारोबारमा १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको ४२ लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ ।
भर्खरै दोस्रो बजारमा कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, आज ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने लिबर्टी इनर्जीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा आज घोराही सिमेन्ट इन्डष्ट्री शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको साढे ७ करोडको शेयर खरिदबिक्री भएको छ । सोल्टी होटलको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने आइएमई लाइफ इन्स्योरेन्सको करिब साढे ५ करोडको शेयर किनबेच भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक २.७४ अंक बढेको छ । त्यसैगरी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update