वालिङ (स्याङ्जा) । दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहराका कारण छाप्राक जोखिममा छ । गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस् । उनीहरुलाई उही राते पहराले निदाउन दिँदैन ।
छाप्राकको बस्तीमा केही दिन अघिमात्रै पहराबाट दुई ठूला ढुङ्गा फुटेर आए । स्थानीय श्यामबहादुर सार्की पहराबाट फुटेर आएका दुई ढुङ्गा बस्ती नजिकै आएपछि थप त्रसित अवस्थामा गाउँले बसेको बताउनुहुन्छ ।
“फुटेर आएको ढुंगा घरको नजिकै आएको छ”, उहाँले भन्नुभयो, “घरभन्दा माथि बाँसघारी भएकाले ढुङ्गाको बेग कम भए पनि बाँस जरैपाई पल्टाएर ढुङ्गा घरैनेर आएको छ ।” बाँसघारीले गर्दा गाउँमा जनधनको क्षति हुन पाएन नत्र के हुन्थ्यो यसै भन्न सकिने अवस्था थिएन । उक्त पहिरोबाट १७ घर प्रत्यक्षरुपमा प्रभावित हुने सार्की बताउनुहुन्छ ।
“घरमा बस्दै गर्दा कतिखेर के हुने हो भन्ने कुराले पिरोलिरहन्छ”, उहाँले भन्नुभयो, “अन्त कहाँ गएर बस्नु ? सङ्ख्या सानो भएको भए विद्यालयमा पनि अटिन्थ्यो होला गाउँ नै उठ्दा त्यो पनि सम्भव छैन ।”
राससका अनुसार वालिङ-२ का वडाध्यक्ष पोतप्रसाद लम्साल गाउँमाथिबाट अकस्मात् दुई ठूला ढुङ्गा खस्दा घर नजिकैको बारीमा रोकिएका कारण जनधनको क्षति हुन नपाएको बताउनुहुन्छ । दलित समुदायको बाक्लो बसोबास रहेको छाप्राकमा जम्माजम्मी दुई सय चार घर छन् । उक्त पहिरोका कारण हालसम्म १७ घर उच्च जोखिममा छन् । अहिलेको अवस्था बढ्दै गएमा पूरै गाउँ नै जोखिममा पर्ने वडाध्यक्ष लम्सालले बताउनुभयो ।
“बस्ती जोगाउनका लागि बस्तीभन्दा माथि बाँस लगाउँछौँ, यसबाट ढुङ्गालाई रोक्ने र जनधनको क्षति हुन पाउँदैन”, उहाँले भन्नुभयो, “यहाँका स्थानीय त त्रसित अवस्थामा हुनुहुन्छ, उहाँहरुले वडासँग बस्ती स्थानान्तरण गर्न मागसमेत गर्दै आउनुभएको छ ।”
बस्ती नजिकै ढुङ्गा खसेपछि गाउँले त्रसित छन् । केहीदिन अघि जोखिमस्थलको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहितको टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेको थियो । गाउँमाथि रहेको पहराबाट दुई ठूला ढुङ्गा चर्किएर खसेकाले गाउँलेमा डर उत्पन्न भएको उहाँले बताउनुभयो । लगातार पानी परेर चर्को घाम लाग्दा ढुंगा फुट्ने र चर्कने भई खस्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो ।
“तत्कालै बस्ती सार्न सकिँदैन”, उहाँले भन्नुभयो, “दीर्घकालीनरुपमा यसको समाधानका लागि भौगर्भिक अध्ययन गरी चट्टानको अवस्था, जोखिमको अवस्थाका बारेमा बुझेर के गर्दा उपयुक्त हुन्छ, सोहीअनुसार अगाडि बढ्छौँ ।”