RayNewsDaily
नेप्से २००० विन्दुभन्दा तल झर्‍यो

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । बजार घटेसँगै नेप्से पुनः २००० विन्दुभन्दा तल झरेको छ । गत साताको दोस्रो कारोबार दिन पनि नेप्से २००० विन्दुभन्दा तल झरेको थियो ।

आज नेप्से परिसूचक २०.५४ अंक घटेर १९९३.३८ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार डेढ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज २८० स्टकको ३८ हजार ६६६ पटकको कारोबारमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको ३८ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज एउटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भर्खरै दोस्रो बजारमा कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६ प्रतिशत बढेको छ । मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक ९.६३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको आज ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको करिब साढे ५ करोडको शेयर खरिदबिक्री भएको छ भने सोल्टी होटलको करिब ५ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update