रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको शेयर बजार मापक नेप्से भने बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ५.०९ अंक बढेर १९९८.४८ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । धेरै दिनदेखि १ अर्बभन्दा माथिको कारोबार भइरहेकोमा आज त्यो क्रम भंग भएको छ । आज २७९ स्टकको ३१ हजार ५९९ पटकको कारोबारमा ९८ करोड ८६ लाख रुपैयाँ बराबरको ३६ लाख ७० हजार कित्ता शेयर कारोबार भएको छ ।
सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य आज ७७ रुपैयाँ १० पैसा बढेर ८४८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ । मर्जरपश्चात नेप्सेमा सूचीकृत भई आजैदेखि कारोबारमा आएको लक्ष्मी सनराइज बैंकको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सोल्टी होटलको करिब ५ करोडको शेयर कारोबार भएको छ । आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ०.८१ प्रतिशत बढेको छ । जलविद्युत उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको छ ।