RayNewsDaily
अनुसन्धानका क्रममा प्रधानमन्त्री नै दोषी देखियो भने पनि छाडिदैन : प्रधानमन्त्री प्रचण्ड  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको बताउनुभएको छ ।    
    
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले सार्वजनिक सेवामा जनताको सहज पहुँच विस्तार गर्ने, विकास निर्माण प्रक्रियालाई गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।    
    
दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकारले आफ्ना गतिविधि अगाडि बढाएको र सोही दिशामा क्रियाशील रहेको स्पष्ट पार्नुभयो । सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको उहाँको कथन छ ।    
    
उहाँले सरकारले अर्थतन्त्रको सकारात्मक सुधारका लागि सरकारले आवश्यक पहलकदमी लिएको र त्यसको सकारात्मक प्रभाव देखा परेको जानकारी दिनुभयो । केन्द्रीय बैंकले सोमबार मात्रै चालु पूँजी कर्जा मार्गदर्शनमा संशोधन गरी उद्योग व्यवसाय क्षेत्रका सकारात्मक प्रभाव पार्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।    
    
प्रधानमन्त्रीले निकट भविष्यमा हुन लागेको चीन भ्रमणका क्रममा दुई देशका बीचका सहकार्यलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई थप सहज बनाउने र नयाँ नाका खोल्ने लगायतका विषयमा महत्वपूर्ण छलफल हुने र निष्कर्षमा पुर्‍याउने बताउनुभयो । प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशको राजधानीको विस्तार र विकासका लागि सरोकारवालासँग थप छलफल गरेर निर्णय हुने उल्लेख गर्नुभयो ।     
    
राष्ट्रिय गौरवका आयोजनालाई थप गति दिन सरकारले आफ्ना संयन्त्रलाई पूर्णरुपमा परिचालित गरेको जानकारी दिँदै उहाँले ती आयोजना यथाशीघ्र सम्पन्न गर्न जोड दिएको बताउनुभयो । प्रतिनिधिसभाको बैठक जारी छ । 

सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा रोल्पाको योगदान र त्यहाँको जनताको साहसको उच्च प्रशंसा गर्नुभएको छ ।  “विकासमा पछाडि परेका क्षेत्रलाई मूल प्रवाहमा ल्याउन सरकारले महत्व दिएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि नै सामाजिक न्याय, सुशासन र सार्वजनिक सेवालाई मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले यसबाट जनतामा सकारात्मक प्रवाह भएको बताउनुभयो । केही हुँदैन भन्ने निराशावादी भाष्य चिर्न सरकार प्रयत्नशील रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा भ्रष्टाचारी कोही नछूटोस्, निर्दाेष कोही नपरोस् भनेर आफूले स्पष्ट रुपमा प्रहरी प्रशासनलाई निर्देशन दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो- “यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन । मेरो पार्टीको त के कुरा ।”    
    
दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने जनतामा सकारात्मक प्रभाव परेको उल्लेख प्रधानमन्त्री दाहालले भ्रष्टाचार र अनियमितताका सन्दर्भमा कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम नगरेको स्पष्ट पार्नुभयो । उहाँले आफ्नो या पराय भनेर विभेद नगरेको स्पष्ट पार्दै सबै भ्रष्टाचारमा संलग्नलाई तथ्य र प्रमाणका आधारमा करबाही गर्ने बताउनुभयो ।    
    
प्रधानमन्त्री प्रचण्डले नेपालमा परापूर्वकालदेखि कायम रहँदै आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले सामाजिक सद्भावमा खलल पार्ने वा एक अर्काको संस्कृति र धर्मविरुद्ध हुने द्वेषपूर्ण कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने स्पष्ट पार्नुभयो ।    
बहुभाषिक, बहुजातीय, विविधता बोकेको नेपालमा सदियौँदेखि विभिन्न जात, जाति, वर्ण, धर्म र संस्कृतिका जनता आपसी सहकार्य तथा गहिरो सद्भावका साथ मिलीजुली बस्दै आएको तथ्य पेस गर्दै प्रधानमन्त्री प्रचण्डले अनेकतामा एकता नेपाली मात्रको विशिष्टता नेपाली मात्रको आधारभूत चरित्र भएको बताउनुभयो । सबैको सहअस्तित्व कायम गर्दै मौलिकताको संरक्षण र संवद्र्धनमा नै हाम्रो राष्ट्रिय एकता दिगो दरिलो भई साँचो अर्थमा राष्ट्रियता बलियो हुने उहाँले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update