रे समाचार/काठमाडौं । शेयर बजारले सकारात्मक गति लिन नसक्दा बजारमा लगानीकर्ताको आकर्षण घट्दै गएको छ । केही दिनदेखि शेयर बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्दै आएकोमा आज पनि त्यही गतिले निरन्तरता पाएको छ ।
आज नेप्से परिसूचक ५.०५ अंक घटेर १९९३.४२ विन्दुमा झरेको छ । हिजो ९८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज झनै घटेर ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको इकाईमूल्य ९.९९ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा आज माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स र नेपाल टेलिकमको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी अरु उपसमूहको परिसूचक घटेको छ ।