काठमाडौं । आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।
मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्याे । नेपालका लागि कविता कुँवरले अविजित १७ रनको योगदान दिनुभयो । उहाँले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १७ रन बनाउनु भएको हो । त्यस्तै सीता रानामगरले अविजित २ रन जोड्नुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटिएको थियो ।
बहराइनका लागि कप्तान दीपिका रसङ्गिकाले सर्वाधिक ११ रनको योगदान दिनुभयो । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिनुभयो भने खुसी डङ्गोलले दुई विकेट झार्नुभयो । कविता कुँवर, पूजा महतो र रुबिना क्षत्रीले समान एक एक विकेट लिनुभयो । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो । अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्नेछ । रासस