RayNewsDaily

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार आर्थिक गतिविधि चलायमान बनाउन बाधक बनेका समस्या समाधान गर्नतर्फ लागिरहेको बताउनुभएको छ । 

आज काठमाडौंमा भएको नेपाल आर्थिक पत्रकार समाजको २५ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको आर्थिक अवस्थालाई सुधार गर्न सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले अहिले नेपालमा पर्यटकको चाप बढीरहेको र विदेशी मुद्राको सञ्चिती पनि पर्याप्त रहेको जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिने सुझावलाई बेवास्ता गर्दा र कार्यान्वयन नगर्दा देशको अर्थतन्त्र अहिलेको अवस्थामा आएको बताउनु भयो । उहाँले अर्थतन्त्रबारे नकारात्मक टिप्पणी मात्रै गरेर पनि लगानी कर्ताहरुको मनोबल खस्किएको बताउनु भयो । 

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्र अहिले खस्किएकै अवस्थामा रहेको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रलाई सही ट्रयाकमा लैजान नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण लगायतका रेगुलेटरले गरेका निर्णयहरुलाई सरकारले सच्याउनुपर्ने बताउनु भयो ।

उहाँले आम जनता र लगानीकर्तामा आत्मविश्वासको कमी हुँदै गएको गुनासो गर्नुभयो । सरकारले निजी क्षेत्रको आत्मबल बढाउने गरी काम गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।   

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update