RayNewsDaily
शेयर बजार दोहोरो अंकले घट्यो

रे समाचार/काठमाडौं । तीन दिन लगाताको बिदापछि आज खुलेको शेयर बजार ठूलो अंकले घटेको छ । पछिल्लो दुई कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज शेयर बजार मापक नेप्से परिसूचक २९.८१ अंक घटेर १९६०.७८ विन्दुमा झरेको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा थोरै बढेको छ । अघिल्लो कारोबार दिन १ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएकोमा आज १ अर्ब १८ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि थ्रीस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य २३ रुपैयाँ बढेर २५४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, सिक्लेस हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ ।

आज दुई स्टकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लिबर्टी इनर्जी र सिटी होटलको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्रीन भेन्चर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो होटलको ३ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आइएमई लाइफ इन्स्योरेन्स र सिटी होटलको साढे ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज सबै उपसमूहको परिसूचक घटेको छ ।

आज होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.०३ प्रतिशत घटेको छ। त्यसैगरी, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, लगानी, लघुवित्त, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update