रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार मापक नेप्से आज सामान्य अंक बढेर बन्द भएको हो ।
आज नेप्से परिसूचक ७.०४ अंक बढेर १९६७.८३ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो कारोबार दिन १ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएकोमा आज १ अर्ब ९ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
नेप्से सामान्य अंक बढेसँगै आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । थ्रीस्टार हाइड्रोपावर र डोल्टी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, ग्रीन भेन्चर्स, रु रु जलविद्युत परियोजना, आशा लघुवित्त र अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ । अन्य उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ । कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको आज ५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।