रमेश हतुवाली/काठमाडौं । नेपालको भूराजनीतिक सम्वेदनशिलता बुझिदिन चिनियाँ पक्षलाई विज्ञहरुले आग्रह गरेका छन् । चीन अध्ययन केन्द्रले काठमाडौंमा आज आयोजना गरेको समकालिन नेपाल-चीन सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले सो आग्रह गरेका हुन् ।
ऐतिहासिककालदेखि वर्तमानसम्म नेपाल र चीनवीच आपसी हित र सहयोगका विभिन्न पक्षहरु सुदृढ हुँदै गए पनि चिनियाँ सहयोग परियोजना विआरआई र अमेरिकी सहयोग परियोजना एमसीसी एकैसाथ नेपालमा क्रियाशिल हुँदा पर्न सक्ने प्रभावलाई चीनले बुझिदिनु पर्ने विज्ञहरुको धारणा रहेको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै कार्यक्रम आयोजक संस्था चीन अध्ययन केन्द्रका महासचिव डाक्टर उपेन्द्र गौतमले नेपाल र चीनबीच पछिल्लो समयमा बढिरहेको सहयोगात्मक सम्बन्धलाई अझ प्रभावकारी बनाउन अन्तरक्रियाको आयोजना गरिएको बताउनु भयो । डाक्टर गौतमले नेपाल र चीनबीच विभिन्न आयोजनाहरु सञ्चालन गर्न विगतमा धेरै समझदारी र सम्झौता भए पनि तिनीहरुको प्रगति सुस्त रहेको भन्दै यस्ता विषयहरुमा दुवै पक्ष बसेर वहस चलाउनु पर्नेमा जोडदिनु भयो ।
कार्यक्रममा इन्स्च्यिूट अफ साउथ एसियन स्टडिज (सि.आइ.सि.आइ.आर) का निर्देशक प्रोफेसर डाक्टर हु स सङले नेपाल र चीनबीचको द्विपक्षीय सहयोग र सहकार्यको चर्चा गर्नुहुँदै विगत १० वर्षमा दुई देशबीच महत्वपूर्ण कार्य भएको बताउनु भयो । डाक्टर हु स सङले सम्बोधनका क्रममा चीन नेपाल सम्बन्ध, दक्षिण एशीया र विश्व राजनीतिमा आएका महत्वपूर्ण राजनीतिक परिवर्तन तथा रणनीतिबारे गम्भीर समीक्षा गर्नुभयो ।
डाक्टर सङले कुनै पनि देशको आर्थिक विकासका लागि राजनीतिक स्थिरता महत्वपूर्ण हुने भन्दै राजनीतिक स्थायीत्वको अभावमा बुढी गण्डकी र सेती जस्ता ठूला जलविद्युत परियोजनाहरु अलपत्र भएको गुनासो गर्नुभयो । हालै चीनले प्रकाशित गरेको राजनीतिक नक्साकै कारणबाट दुइ देशबीचको सम्बन्ध विग्रन सक्ने कुरा अस्विकार गर्दै उहाँले यस्ता समस्याहरु वार्ताको माध्यमबाट सजिलै समाधान गर्न सकिने जानकारी दिनुभयो । चीनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भन्दै नेपालको सार्वभौमिकता र स्थायीत्वको चीनले सँधै सम्मान गर्ने डाक्टर हु स सङको भनाइ छ । नेपालमा राजनीतिक स्थायीत्वले निरन्तरता पाए चीनले नेपालको विकास निर्माणमा अझ धेरै सहयोग गर्न सक्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्य, लीलामणी पौड्याल, पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पूर्व सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई, सल्लाहकार प्राध्यापक डाक्टरमोहन लोहनी, सचिव प्रकाश बाबु पौडेल, नेकपा माओवादी केन्द्रका नेता लीलामणी पोख्रेल लगायतले नेपाल-चीन सम्बन्धका विविध पक्षहरुमा गहन मन्तब्य व्यक्त गर्नुभएको थियो ।