RayNewsDaily
प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग   

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उहाँमाथि कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो ।    
    
गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा हेरिरहेको अदालतका प्रवक्ताले बताएकी छन् ।    
    
पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक वर्ष पनि नपुग्दै प्रधानमन्त्री किसिदामाथि आक्रमण भएको थियो । वाकायामा जिल्ला अदालतका प्रवक्ताले एएफपी किमुरालाई हत्या अभियोग लगाइएको बुधबार बताइन् ।    
    
आक्रमणपछि प्रहरीले खोजी गर्दा किमुराको घरमा बारूद, पाइपलगायत उपकरण फेला परेका थिए ।  सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार किमुरा आफ्नो गिरफ्तारी पछि मौन छन् । हत्या आरोप लगाइनुअघि करिब तीन महिनासम्म किमुराको मनोवैज्ञानिक परीक्षण गरिएको थियो । यसअघि किमुराले निर्वाचनमा भाग लिने देशको न्यूनतम उमेरप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध मुद्दा दायर गरेका थिए । एएफपी    

  

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update