रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार साढे ६ अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक २८.९२ अंक घटेर १९३२.४५ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन साढे ७९ करोडको शेयर कारोबार भएकोमा आज १ अर्ब १५ करोड ९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज शुभम् पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.७१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६ करोड १५ लाख ४१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी सोल्टी होटलको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशत घटेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।