RayNewsDaily
शेयर बजार १० अंकले वृद्धि

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार १०.२३ अंक बढेर १९४२.६८ विन्दुमा पुगेको छ। आज २७६ स्टकको ३३ हजार ६४ पटकको कारोबारमा १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरको ४३ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज चार वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, शुभम् पावर, न्यादी हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। थ्रीस्टार हाइड्रोपावरको शेयर करिब साढे ८ प्रतिशत बढेको छ। हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.८१ प्रतिशत घटेको छ। गत साता सो कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको थियो ।

कारोबार रकमका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । माछापुच्छ्रे बैंक र शिवम् सिमेन्ट्सको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ । वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ। जलविद्युत उपसमूहको परिसूचक ०.१४ प्रतिशत घटेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update