रे समाचार/काठमाडौं । धेरै दिनको गिरावटपछि शेयर बजार आज ठूलो अंकले वृद्धि भएको छ । हिजो १० अंक बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज शेयर बजार मापक नेप्से परिसूचक ४४.३० अंक बढेर १९८६.९९ विन्दुमा पुगेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १ अर्बको शेयर खरिदबिक्री भएकोमा आज १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । थ्रीस्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, मोलुङ हाइड्रोपावर र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । कारोबार रकमका आधारमा आज साल्ट ट्रेडिङ्ग कर्पोरेशन शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने एभरेष्ट बैंकको करिब ६ करोडको शेयर खरिदबिक्री भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये होटल उपसमूहको परिसूचक सर्वाधिक ३.४५ प्रतिशत बढेको छ । जलविद्युत्, विकास बैंक, उत्पादन तथा प्रशोधन, जीवन बीमा र निर्जिवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।