RayNewsDaily
उप्रेती समाजको विशेष तीज कार्यक्रम

रे समाचार/काठमाडौं । उप्रेती समाजसेवा समितिले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना आदान-प्रदान तथा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं सांसद पशुपति शमशेर जबरा र उहाँकी पत्नी उषा राज्यलक्ष्मी राणाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा देशभरबाट आएका ४ सयभन्दा बढी उप्रेती महिलाहरु भेला भएका थिए ।

८२ वर्षीय सांसद पशुपति शमशेर जबरा र पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिनुभएकी उहाँकी पत्नी उषा अन्य महिलासँगै छमछमी नाच्नुभएको थियो । ‘म र पत्नी भएर तपाईंहरुसँग बिताउन पाउँदा हुरुक्क भएको छु,’ जबराले भन्नुभयो । उहाँकी पत्नी उषाले कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई निकै खुशी लागेको बताउनु भयो ।

समितिका अध्यक्ष तथा तीज उत्सव कार्यक्रमका अध्यक्ष शोभित उप्रेतीले नारीहरुको महान साँस्कृतिक पर्व हरितालिका पर्वका अवसरमा संस्थामा आवद्ध सबै महिला दिदी बहिनीहरुलाई जुटाएर तीजलाई भड्किलो होइन, मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले तीज कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । तीजलाई साँस्कृतिक पर्वको रुपमा बचाई राख्न र एक आपसमा सुख दुःख साटासाट, शुभकामना व्यक्त गर्नुका साथै दर खाने कार्यक्रमको आयोजना गरिएको जानकारी उहाँले दिनुभयो । कार्यक्रममा ७५ वर्षभन्दा माथिका वृद्धहरुलाई सम्मान गरिएको थियो ।

समाजका महासचिव लक्ष्मण उप्रेती र सचिव बलराम उप्रेतीले संचालन गर्नुभएको औपचारिक कार्यक्रममा महिला विभाग प्रमुख तथा तीज विशेष कार्यक्रमकी संयोजक कमला उप्रेतीले स्वागत मन्तब्य दिनुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update