रे समाचार/काठमाडौं । पर्यटनविद् एवं सकारात्मक सोचका चिन्तक कर्ण शाक्यले पर्यटनको विकासविना नेपालको समग्र विकास हुनै नसक्ने बताउनु भएको छ ।
कपिल बन्जाराद्वारा लिखित पुस्तक 'भिजिट नेपाल (इन्साइक्लोपिडिया अफ हिमवतखण्ड) पुस्तकको आज विमोचन गर्दै पर्यटनविद् शाक्यले यो विचार व्यक्त गर्नुभएको हो । 'नेपालको विकास रणनीति बनाउँदा शतप्रतिशत पर्यटनसँग सम्बन्धित गरे मात्र दिगो विकास संभव छ', उहाँले भन्नुभयो ।
एक सय मिटरको फरकमै एक/दुई डिग्री तापक्रम फरक पर्ने भूमि विश्वमा नेपालमा मात्र पाइने उल्लेख गर्दै उहाँले यस्तो भूमिको उपयोग गरेर पर्यटन व्यवसायको विस्तार गर्न भने हामी चुकेको शाक्यले बताउनु भयो । नेपालको पर्यटन व्यवसाय अहिले पनि ५० वर्ष पुरानै शैलीबाट चलिरहेकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले समय अनुसार चल्न नयाँ पर्यटन व्यवसायीहरूलाई अनुरोध गर्नुभयो ।
लेखक बन्जारालाई नयाँ पुस्तकका लागि बधाई दिंदै उहाँले नेपाली पर्यटकीय क्षेत्रका बारेमा विदेशीले लेखेका पुस्तकको भर पर्नुपर्ने बाध्यता रहेकोमा अब नेपाली लेखक सक्रिय हुनु खुसीको कुरो हो भन्नुभयो । 'नेपाली आँखाले देखेको र नेपाली कलमले लेखेको कुरा नै यथार्थपरक र तथ्यमूलक हुन्छ', पर्यटनविद् एवं चिन्तक शाक्यले भन्नुभयो ।
कार्यक्रममा पर्यटन व्यवसायी दीपक महत, रमेश धमला, सुमन घिमिरे लगायतका वक्ताहरूले विमोचित पुस्तकबारे धारणा राख्नुभएको थियो ।