RayNewsDaily
शेयर बजारमा सामान्य सुधार

रे समाचार/काठमाडौं । हिजो उच्च अंकले घटेको शेयर बजारमा आज सामान्य सुधार भएको छ । साताको दोस्रो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक ४.२६ अंक बढेर १९६९.१८ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ८७ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज इमर्जिङ्ग नेपाल लिमिटेड र थ्रीस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै भूगोल इनर्जीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ । शुभम् पावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ९८ रुपैयाँ ५० पैसा घटेर ८८७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको ९ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ । आज बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको हो । जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । बैंकिङ्ग उपसमूहको परिसूचक ०.४० प्रतिशत घटेको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update