RayNewsDaily
शेयर बजार दोहोरो अंकले वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १६.२४ अंक बढेर १९८५.४३ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ८७ करोडको शेयर खरिदबिक्री भएकोमा आज १ अर्ब १७ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

कारोबार रकमका आधारमा आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १० करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, ओरियन्टल होटलको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
आज दोस्रो बजारका लगानीकर्ताहरु जलविद्युत् कम्पनीहरुतर्फ आकर्षित भएको देखिएको छ । जलविद्युत् कम्पनीहरुको शेयरमूल्यसँगै परिसूचक पनि आज उच्च दरमा बढेको छ । आज सर्वाधिक शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमध्ये ९  वटा जलविद्युत् कम्पनी रहेका छन् । जसमध्ये तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

शुभम् पावर, थ्रीस्टार हाइड्रोपार र मेन्छियाम हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, बलेफी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने पञ्चकन्या माई हाइड्रोपावर, बाराही हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । इमर्जिङ्ग नेपालको शेयरमूल्य भने सर्वाधिक ८ प्रतिशत घटेको छ ।

१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । आज जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक भने घटेका छन्।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update