रे समाचार/काठमाडौं । तीन कारोबार दिन लगातार बढेपछि साताको पहिलो कारोबार दिन आज शेयर बजारमा करेक्सन आएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक १९.४२ अंक घटेर २०१०.३५ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
नेप्से घटे पनि आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । शुभम् पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यस बैंकको शेयर कारोबार बढेको हो । सो बैंकको आज १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको करिब १० करोडको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ भने एउटा उपसमूहको परिसूचक बढेको छ । आज लघुवित्त उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।