रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । हिजो करिब साढे १९ अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ५.८९ अंक घटेर २००४.४५ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, इष्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ ।
आज दुई वटा स्टकको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको ७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । आज जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। लगानी उपसमूहको परिसूचक आज सर्वाधिक ०.९५ प्रतिशत घटेको छ।