RayNewsDaily
शेयर बजारमा १७ अंकको गिरावट

रे समाचार/काठमाडौं । घट्दो क्रममा रहेको शेयर बजार आज पनि घटेरै बन्द भएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक १७.५६ अंक घटेर १९५८.७२ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएकोमा आज १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.९१ प्रतिशत बढेको छ । त्यस्तै, घलेम्दी हाइड्रोको शेयरमूल्य ७.८१ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक साढे ७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एशियाको ५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update