RayNewsDaily
शेयर बजार लगातार तेस्रो दिन पनि राताम्य

रे समाचार/काठमाडौं । पछिल्ला तीन दिनदेखि लगातार घटिरहेको शेयर बजारले आज पनि ओरालो गतिलाई नै निरन्तरता दिएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक १९.०६ अंक घटेर १८८९.५९ विन्दुमा झरेको छ। यो पछिल्लो करिब साढे ४ महिना यताकै न्यून विन्दु हो। यसअघि गत जेठ १८ गते नेप्से १८६६.३४ विन्दुमा बन्द भएको थियो।

नेप्से घटे पनि आज कारोबार रकम भने हिजोको तुलनामा सामान्य बढेको छ। हिजो १ अर्ब १७ करोडको शेयर खरिदबिक्री भएकोमा आज २८२ स्टकको ४४ हजार ६९ पटकको कारोबारमा १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता शेयर किनबेच भएको छ ।

आज अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.८६ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशत घटेको छ । गरिमा विकास बैंकको ऋणपत्रको मूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज सानिमा जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको २० करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी , नबिल बैंकको करिब साढे ३ करोडको शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधकि १.७९ प्रतिशत घटेको छ । विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमिूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update