RayNewsDaily
शेयर बजार २० अंकले घट्यो 

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागिरहेको शेयर बजार मापक नेप्से हिजो सामान्य अंक बढे पनि आज पुनः गिरावटलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक २०.१६ अंक घटेर १८७४.६० विन्दुमा झरेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो १ अर्बको शेयर खरिदबिक्री भएकोमा आज १ अर्ब ७० करोड १ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भगवती हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो । भगवती र मिड सोलु आजैदेखि कारोबारमा आएका हुन् । आज एनआईबिएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्ड र सयपत्री हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । सिटी होटलको मूल्य सर्वाधिक ९.०९ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको १६ करोड ३८ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक १.१६ प्रतिशत बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशत घटेको छ । विकास बैंक, वित्त, जलविद्युत्, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update