RayNewsDaily
मोदीको कालापानी भ्रमण आपत्तिजनक

रे समाचार/काठमाडौं । नेपाल सरकारलाई पूर्वजानकारी नदिई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूभाग कालापानीको भ्रमण गर्नु आपत्तिजनक रहेको विज्ञहरुले बताएका छन् । 

Modi in Kalapani 21697203890.jpg

वामबुद्धिजीवि तथा चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी क्षेत्रको भ्रमण भारतको बलमिच्याइँ भएको प्रतिक्रिया दिनुभएको छ । कालापानी नेपाली भूभाग हो भन्ने जानकारी मोदीलाई नभएर उहाँले सो क्षेत्रको भ्रमण गरेको नभई कालापानीको रणनीतिक महत्व देखेर नै सो भ्रमण गरिएको कार्कीको धारणा छ । नेपालको स्वतन्त्रता र सार्वभौमिकता जोडिएको यस्तो सम्वेदनशिल विषयमा सरकार नबोल्नु गम्भिर विषय भएको पनि पूर्वराजदूत कार्कीले बताउनु भयो । 

Modi in Kalapani 31697203914.jpg

पूर्वप्राध्यापक तथा चीन अध्ययन केन्द्रका महासचिव डाक्टर उपेन्द्र गौतमले भारतीय प्रधानमन्त्री मोदीको नेपाली भूभाग कालापानीको भ्रमण तीर्थयात्रीको रुपमा नभएर सो भूभागलाई आफ्नै भूभाग देखेर भ्रमण गरिएको बताउनु भयो । डाक्टर गौतमले यस्ता विषयहरुलाई नेपाल सरकारले गम्भिरतापूर्वक उठाउनु पर्ने आवश्यकतामा जोडदिनुभयो ।

यसैगरी राष्ट्रिय जनमोर्चाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारलाई पूर्वजानकारी नदिई नेपालको कालापानी क्षेत्रमा भ्रमण गरेको भन्दै आपत्ति जनाएको छ । आज विज्ञप्ति निकालेर जनमोर्चाले नेपालको कालापानी क्षेत्रमा पर्ने गुञ्जी गाउँमा नेपाललाई पूर्व जानकारी नगराइ वा अनुमति नलिइ भएको मोदीको भ्रमणको विरोध गरेको हो । कालापानी क्षेत्रमा पर्ने गुञ्जीलगायतका गाउँ दार्चुला जिल्लाको व्यास गाउँपालिकाको वडा नं. १ मा पर्ने उल्लेख गर्दै विज्ञप्तिमा, कुटी, गुञ्जी, नाभी, न्युराङ, छोटाकैलाशसहितको कालापानी क्षेत्र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताभित्र पर्ने भूभाग हुन् भनिएको छ ।

Modi in Kalapani 41697203934.jpg

नेपाललाई कुनै जानकारी नै नगराई भारतीय प्रधानमन्त्री यी क्षेत्रमा भ्रमण गर्ने कुरा अन्तर्राष्ट्रिय कुटनीतिक मर्यादा र शिष्टाचारको उल्लङ्घन भएको ठहर विज्ञप्तिमा गरिएको छ । त्यसका साथै मोदीको भ्रमण भारतीय साम्राज्यवादको नेपालप्रतिको हेपाहा तथा विस्तारवादी नीति भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतीय साम्राज्यवादले कालापानी क्षेत्रलाई कब्जा गरेर भारतीय सङ्घमा मिलाउनका लागि लामो समयदेखि विभिन्न षड्यन्त्र गर्दै आएको पनि जनमोर्चाको आरोप छ । मोदीको अहिलेको भ्रमण त्यसैको एउटा कडी हो भनि विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतीय प्रधानमन्त्रीको भ्रमणबाट कालापानी क्षेत्रको अतिक्रमित भूभाग भारतले सहज रुपमा छोड्ने र आफ्ना सेना फिर्ता लैजाने पक्षमा नभएको नै देखाउँछ, त्यसैले कालापानीको विवादलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रको भ्रमण गर्नु भएको थियो । भ्रमणका क्रममा मोदीले कालापानीस्थित पार्वती कुण्डमा केही समय ध्यानसमेत गर्नुभएको फोटो सार्वजनिक भएको थियो । मोदीको यो भ्रमणबारे पूर्व जानकारी नभएको सरकारले जनाएको थियो ।  

Janamorcha Press1697204007.jpg

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update