रे समाचार/काठमाडौं । धेरै दिनदेखि घटिरहेको शेयर बजारमा आज सामान्य सुधार भएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक १३.१८ अंक बढेर १८६४.६२ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो १ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएकोमा आज १ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज हाथवे इन्भेष्टमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज एनआईबिएल प्रगति फण्डको इकाईमूल्य सर्वाधिक ७.३५ प्रतिशत बढेको छ । श्वेत गंगा हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड र मेगा म्युचुअल फण्ड १ को मूल्य ६ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । सर्वाधिक शेयर कारोबार भएको हाथवेको मूल्य आज सबैभन्दा बढी ८.५३ प्रतिशत घटेको छ । त्यसैगरी, सुपर माई हाइड्रोपावरको शेयरमूल्य करिब साढे ६ प्रतिशत घटेको छ ।
१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३० प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । व्यापार उपसमूहको परिसूचक आज सर्वाधिक १.२५ प्रतिशतले घटेको छ ।