RayNewsDaily
शेयर बजारमा हरियाली

रे समाचार/काठमाडौं । शेयर बजारमा आज हरियाली छाएको छ । दशैं नजिकिएसँगै घट्दो क्रममा रहेको शेयर बजार आज उच्च अंकले वृद्धि भएको हो । आज कारोबार रकम भने घटेको छ । पछिल्ला कारोबार दिनहरूमा १ अर्बभन्दा बढीको शेयर कारोबार हुने गरेकोमा आज ९३ करोड ४८ लाख रुपैयाँ बराबरको मात्रै शेयर खरिदबिक्री भएको छ ।

आज शेयर बजार मापक नेप्से परिसूचक २.३२ प्रतिशत अर्थात् ४३.२७ अंक बढेर १९०७.८९ विन्दुमा पुगेको छ । आज आशा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य आज ६६ रुपैयाँ बढेर ७२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, इन्फिनिटी लघुवित्त, मिड सोलु हाइड्रोपावर, ज्योति विकास बैंक र गणपति लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज २६ वटा स्टकको मूल् भने घटेको छ । 

कारोबार रकमका आधारमा आज सानिमा जिआईसी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको आज करिब साढे ४ करोडको शेयर कारोबार भएको छ भने कुमारी बैंकको ३ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएका छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । वित्त, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update