रे समाचार/काठमाडौं । दशैं पछिको दोस्रो कारोबार दिन शेयर बजार झीनो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३.०४ अंकले बढेर १८७८.७० विन्दुमा पुगेको छ । आज नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ ।
हिजो ७४ करोडको शेयर खरिदबिक्री भएकोमा आज ६९ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.८२ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सुपर मादी हाइड्रोपावरको ५ प्रतिशतभन्दा बढी बढेको छ । सोनापुर मिनरल्सको शेयर आज पनि नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा आज साधना लघुवित्तको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो लघुवित्तको ३ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । परिसूचक बढेका उपसमूहको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ । होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको हो ।