RayNewsDaily
मोदी र हसिनाद्वारा भारत-बंगलादेशबीचको रेल, विद्युत् क्षेत्र परियोजनाको उद्घाटन       

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिनाले बुधबार भिडियो कन्फरेन्सिङमार्फत भारतीय सहयोगमा निर्मित तीन वटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ ।    
    
ती परियोजनामा अखौरा-अगरतला क्रस बोर्डर रेल लिङ्क, खुलना-मोङ्गला पोर्ट रेल लाइन र बङ्गलादेशको रामपालमा मैत्री सुपर थर्मल पावर प्लान्टको युनिट–२ रहेका छन् । भारत र बङ्गलादेशबीच रेल र विद्युत् क्षेत्रको परियोजनाहरूको उद्घाटन दुवै मुलुकबीचको सम्बन्ध र साझेदारीलाई सुदृढ बनाउन केन्द्रित रहेको बताइएको छ ।    
    
“यी महत्वपूर्ण परियोजनाहरूको संयुक्त उद्घाटनले हाम्रा दुई मित्र राष्ट्रबीचको दृढ मित्रता र सहयोगलाई प्रकट गर्दछ । जी२० शिखर सम्मेलनमा भाग लिन सन् २०२३ सेप्टेम्बरमा मेरो भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीको न्यानो आतिथ्यताका लागि म धन्यवाद दिन चाहन्छु”, बङ्गलादेशका प्रधानमन्त्री हसिनाले भन्नुभयो, “म हाम्रो दुवै मुलुकबीचको मित्रताको बन्धनलाई सुदृढ बनाउने तपाईंको प्रतिबद्धताप्रति आभार व्यक्त गर्दछु ।”    
    
अखौरा-अगरतला क्रस बोर्डर रेल लिङ्क परियोजना भारत सरकारले बङ्गलादेशलाई दिएको तीन अर्ब ९२ करोड ५२ लाख भारतीय रुपैयाँको अनुदान सहयोगअन्तर्गत कार्यान्वयनमा ल्याइएको हो । बङ्गलादेशमा छ दशमलव ७८ किलोमिटर डबल गेज रेल लाइन र त्रिपुरामा पाँच दशमलव ४६ किलोमिटरसहित रेल लिङ्क गरी कूल लम्बाइ १२ दशमलव २४ किलोमिटर रहेको छ ।    
    
खुलना-मोङ्गला पोर्ट रेल लाइन परियोजना भारत सरकारको सहुलियतपूर्ण ऋणअन्तर्गत ३८ करोड ८९ लाख २० हजार अमेरिकी डलरको लागतमा कार्यान्वयनमा ल्याइएको हो । यो परियोजनामा मोङ्गला बन्दरगाह र खुलनामा विद्यमान रेल नेटवर्कबीच करिब ६५ किलोमिटर ब्रोड गेज रेलमार्ग निर्माण समावेश छ । यसका साथै बङ्गलादेशको दोस्रो सबैभन्दा ठूलो बन्दरगाह मोङ्गला ब्रोड गेज रेलवे नेटवर्कसँग जोडिएको छ ।    
    
मैत्री सुपर थर्मल पावर परियोजना एक अर्ब ६० करोड अमेरिकी डलरको भारतीय सहुलियतपूर्ण ऋणअन्तर्गत बङ्गलादेशको खुलना डिभिजनमा रामपालस्थित एक हजार तीन सय २० मेगावाटको सुपर थर्मल पावर प्लान्ट हो । उक्त परियोजना भारतको एनटीपीसी लिमिटेड र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीचको आधा आधा लगानी भएको बङ्गलादेश–भारत मैत्री पावर कम्पनी लिमिटेडले कार्यान्वयनमा ल्याएको हो । यी परियोजनाले यस क्षेत्रमा कनेक्टिभिटी र ऊर्जा सुरक्षालाई सुदृढ पार्नेछन् ।    
    
पछिल्लो दशकमा बङ्गलादेश-भारत मैत्री संवादले दुवै देशबीच द्विपक्षीय सम्बन्धहरूलाई सुदृढ बनाउन महत्वपूर्ण मञ्चका रूपमा काम गरेको छ । बीएनएन न्युजका अनुसार यो वर्षको संवादको विषय ‘बृहत् र पारस्परिकरूपमा लाभदायक साझेदारीलाई बढाउने’ रहेको छ । एजेन्सी

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update