RayNewsDaily
विश्वकप छनोट : युएईद्वारा हङकङ पराजित     

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई हराउँदै विजयी भएको छ ।    
    
माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा हङकङलाई २२ रनले पराजित गर्दै युएई समूह ‘बी’को विजेता बन्न सफल भयो । यो जितसँगै युएईले भोलि हुने सेमिफाइनल खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।    
    
नेपाल समूह ‘ए’ को उपाविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । जितको लागि एक सय ७७ रनको विजयी लक्ष्य पछ््याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५४ रनमा समेटियो ।    
    
हङकङका लागि अन्स्या राथले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ४७ बलमा ८ चौकासहित सर्वाधिक ५९ रन बनाएका हुन् । त्यस्तै एजिज खानले २६ निजाकत खानले २५, तथा नस्रुल्लाह रानाले १३ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । युएईका अली नासिर र जहुर खानले समान दुई विकेट लिए ।    
    
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनको योगफल बनाएको थियो । युएईका लागि बासिल हामिद सर्वाधिक ५१ रनका योगदान दिए । उनले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाएका हुन् ।    
    
कप्तान मोहम्मद वासिमले २४ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोडे । एलिशान शराफुले २४ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए । वृत्य अरविन्द्यले १९ रन जोड्दा खालिद शाह ६ तथा आसिफ खान ४ रनमा आउट भए । हङकङका यासिम मुर्तजाले तीन विकेट लिए भने नस्रुल्लाह रानाले दुई विकेट लिए । त्यस्र्तै एहसान खानले एक विकेट लिए । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update