RayNewsDaily
तेस्रो कारोबार दिन पनि घट्यो शेयर बजार

रे समाचार/काठमाडौं । शेयर बजार निरन्तर तेस्रो कारोबार दिन पनि घटेको छ । मंगलबारदेखि ओरालो लागेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक १०.८६ अंक घटेर १८४७.७० विन्दुमा झरेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ ।

हिजो ८१ करोडको शेयर कारोबार भएकोमा आज ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ६.०४ प्रतिशतले बढेको छ । हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशत बढेको छ । सयपत्री हाइड्रोपावरको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य आज ५५ रुपैयाँ ८० पैसा घटेर ५०२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य करिब साढे ७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज आशा लघुवित्तको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो लघुवित्तको १० करोड १० लाख १० हजार रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ । त्यसैगरी, आज प्राइम कमर्सियल बैंकको करिब साढे ६ करोड रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.२७ प्रतिशत बढेको हो । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने आज सामान्य अंक बढेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत घटेको छ । व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त र जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update