रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । हिजो पनि दोहोरो अंक बढेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो करिब ९४ करोडको शेयर कारोबार भएकोमा आज ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ । आज लगानी उपसमूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशत बढेको छ । वित्त, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । निर्जीन बीमा उपसमूहको परिसूचक भने ०.१८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको ९ करोड १६ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ । यसैगरी माछापुच्छ्रे बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशत बढेको छ । सोनापुर मिनरल्स र सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.२६ प्रतिशतले र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य करिब ६ प्रतिशत घटेको छ ।