RayNewsDaily
शेयर बजार वृद्धि हुने क्रम जारी

रे समाचार/काठमाडौं । शेयर बजार निरन्तर तेस्रो कारोबार दिन वृद्धि भएको छ । गत सोमबारदेखि उकालो लाग्न थालेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो करिब १ अर्बको शेयर कारोबार भएकोमा आज ७८ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.०७ प्रतिशत बढेको छ । त्यसैगरी, पिपुल्स हाइड्रोपावर कम्पनी र नेपाल एसबिआई बैंकको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.३८ प्रतिशतले घटेको छ । सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ भने एनआईसी एशिया ग्रोथ फण्ड र इमर्जिङ्ग नेपालको मूल्य करिब ५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी हिमालयन बैंकको ५ करोडभन्दा बढीको संस्थापक शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । बाँकी एउटा उपसमूहको परिसूचक स्थिर रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update