RayNewsDaily
खोजबिनको माग गर्दै विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री   

महेन्द्रनगर । त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गर्नुभएको छ । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गर्नुभएको हो ।    
    
“चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु पर्‍यो”, मन्त्री साउदलाई विपिनका बुबाआमाले भन्नुभयो, “छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु पर्‍यो ।” भीमदत्त नगरपालिका-३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाउनुभएको थियो ।    
    
भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिनुभयो । “कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ”, उहाँले भन्नुभयो ।    
    
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल जानुभएको थियो । सुदूरपश्चिम विश्वविद्यालयबाट उहाँसहित ४९ विद्यार्थी त्यहाँ जानुभएको थियो । गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई भने हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उहाँको कुनै खबर प्राप्त हुन सकेको छैन । रासस     

 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update