रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ । हिजो साढे २० अंकभन्दा बढी बढेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ९.८७ अंक बढेर १८६०.२० विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो १ अर्बको शेयर कारोबार भएकोमा आज १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य आज ३१ रुपैयाँ ६० पैसा बढेर ३४८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको हो । त्यसैगरी, थ्रिस्टार हाइड्रोपावर र सिक्लेस हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ भने सानिमा रिलायन्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
हालसम्मकै कम लाभांश वितरण गर्ने घोषणा गरेको नबिल बैंकको शेयरमूल्य आज सर्वाधिक ८.२० प्रतिशत घटेको छ । सो बैंकको आज सबैभन्दा बढी शेयर कारोबार भएको छ । कम लाभांश घोषणा गरेका कारण बैंकको शेयरमा बिक्रीचाप देखिएको हो । आज सो बैंकको १३ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सो बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश मात्विर तरण गर्ने घोषणा गरेको छ । आज बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जीवन बीमा उपसमूहको परिसूचक आज सर्वाधिक ३.३७ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, वित्त, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक आज १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । बैंकिङ्ग, लघुवित्त र अन्य उपसमूहको परिसूचक भने घटेको छ ।