रमेश हतुवाली/पोखरा । पोखराको पर्यटन विकास र चीन लगायतका देशहरुमा पोखरालाई चिनाउने उद्धेश्यले आयोजना गरिएको “वार हर्स” नेपाल-पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगितामा नेपाली प्रतियोगीहरु अग्रस्थान प्राप्त गर्न सफल भएका छन् ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, पोखरा महानगरपालिकाका उपमेयर मञ्जु गुरुङ्ग, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी, परराष्ट्र मामिला कार्यालय युनान प्रान्त चीनका उपनिर्देशक चु वेनचोङ्ग, चीनको युननान माण्टेनरिङ्ग एण्ड आउट डोर स्पोर्ट एशोसिएशनका महासचिव चाङ्गस, नेपाल चाईना पिपुल फेण्डसिप एशोसिएशनका अध्यक्ष विश्व शंकर पालिखे लगायतले शनिबार बिहान पोखराको फेवातालस्थित तालबाराहीघाटमा एक भव्य समारोहबीच संयुक्त रुपमा सुरु गर्नुभएको सो प्रतियोगितामा नेपाली प्रतियोगीहरुले अग्रस्थान हासिल गर्न सफल भएका हुन् ।
प्रतियोगीताको नियामानुसार दौड, साइकिलिङ र बोटिङ तीनै विधामा सहभागीहरुले प्रतिस्पर्धा गर्नुपर्ने र प्रतियोगिता सुरु भएको स्थान तालबाराहीदेखि बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर प्रतियोगीता पुरा हुने नियम अनुसार नेपाल र चीनका खेलाडीहरुले सोही नियमानुसार प्रतिस्पर्धामा सहभागीता जनाएका हुन् ।
यस प्रतियोगीता अन्तर्गत ४० किलोमिटर दूरीको दौड प्रतिस्पर्धामा नेपाली जोडी सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बुको टिम प्रथम हुँदै ३ लाख ६० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । यस समूहले ३ घण्टा ४२ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरेको हो ।
यस प्रतिस्पर्धामा बसन्त थारु, श्रेवी महर्जन र मुकेश थारुको टिम दोस्रो भएको छ । यस समूहले ३ घण्टा ५२ मिनेट २३ सेकेण्डमा दौड पुरा गरेको हो । दोस्रो हुने टोलीले २ लाख ८८ हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
४० किलोमिटरकै प्रतिस्पर्धामा नेपाली टोलीले तेस्रो स्थान प्राप्त गरेको छ । सो टोलीमा रहनु भएका श्रीकास राई, तिलक सुनुवार र केशरी थापा मगरको टोली तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो । । यस समूहले ३ घण्टा ५७ मिनेट २५ सेकेण्डमा दौड पुरा गरेको हो । यस टोलीले २ लाख १६ हजार नगदका साथै पदक र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
यस प्रतियोगीतामा चिनियाँ टोलीले चौथो स्थानमा चित्त बुझाउनु पर्यो । लिन छाईसी, याङ छुनचङ र चौ छिङले चौथो स्थानमा रहेर अन्तराष्ट्रिय क्रस कन्ट्री दौड पूरा गर्नुभयो । चिनियाँ टोलीले १ लाख ४४ हजार नगद पुरस्कारका साथै पदक र प्रमाणपत्र प्राप्त गर्न सफल भएको भयो । क्रस कन्ट्री दौडको टिम इभेन्टतर्फ १० वटा नेपाली टोली र ३ वटा चिनियाँ टोलीले प्रतिस्पर्धा गरेका थिए । ३८ किलोमिटर तर्फको एकल प्रतिस्पर्धामा नेपाली धावक होमलाल श्रीस प्रथम हुनुभयो । त्यस्तै बेदबहादुर सुनुवार दोस्रो, तीर्थ तामाङ तेस्रो, करन रावल चौथो हुनुभयो । उहाँहरु सबै नेपाली सेनाका धावक हुनुहुन्छ । व्यक्तिगत प्रतिस्पर्धाका विजेताले १ लाख ४४ हजार, दोस्रो हुनेले १ लाख ८ हजार, तेस्रो हुनेले ५४ हजार र चौथो हुनेले १८ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यसैगरी विद्यार्थीहरु लक्षित ५ किलोमिटर सडक दौडमा कुमुदिनी होम्सका छात्र कृष्णबहादुर परियार र छोरेपाटन माविकी छात्रा नारायणी भण्डारी प्रथम भएका हुनुभएको थियो । उहाँहरुले २५/२५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नुभयो ।
छात्रतर्फ तेन्जोन रोका मगर र कास्की मोर्डनाइज्डका बादल कार्की क्रमशः दोस्रो र तेस्रो हुनुुभयो । छात्रातर्फको प्रतिस्पर्धामा मेघराज पहिलो, आधारभूत विद्यालयकी एन्जिला जिटी दोस्रो र तालबाराही माविकी गीता श्रेष्ठ तेस्रो हुनुभयो । दोस्रो र तेस्रो भएका छात्र÷छात्राहरुले क्रमस नगद २० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
यो भव्य प्रतिस्पर्धामा ७६ जनाले सहभागिता जनाएका थिए । यस प्रतियोगीतालाई भव्य रुपमा सम्पन्न गर्न र प्रतियोगितामा सहभागी हुन १ सय ४ जनाको चिनियाँ टोली हिमालय एयरलाईन्सको विमान चार्टड गरेर पोखरा आएका हुन् ।
प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गर्ने खेलाडीहरुको सम्मानमा शनिबार साँझ पोखराको पौवा होटलमा पुरस्कार र प्रमाणपत्र बितरणका साथै रात्रीभोजको पनि आयोजना गरिएको थियो । सो समारोहमा नेपालका लागि चिनियाँ राजदुत छन सोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी, परराष्ट्र मामिला कार्यालय युनान प्रान्त चीनका उपनिर्देशक चु वेनचोङ्ग, चीनको युननान माण्टेनरिङ्ग एण्ड आउट डोर स्पोर्ट एशोसिएशनका महासचिव चाङ्गस, नेपाल चाईना पिपुल फेण्डसिप एशोसिएशनका अध्यक्ष विश्व शंकर पालिखे लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाकोे संयुक्त आयोजनामा सम्पन्न भएको यस प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनलाई विश्वसामु पुर्याउने र जनस्तरमा नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग मिल्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।