RayNewsDaily
विप्लव सहित चारजना नेताविरुद्ध पक्राउ पुर्जी जारी 

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुईवटा मुद्दामा विप्लवसहित पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा र अखिल नेपाल किसान महासङ्घका अध्यक्ष राजु कार्कीको नाममा पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत काठमाडौंले गोरखापत्रमा प्रकाशित गरेको सूचनामा उहाँहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । २०७६ सालको असोज ९ गते दायर भएको मुद्दामा उहाँहरुमाथि सङ्घीय इकाइहरूबीच र विभिन्न जातजाति वा सम्प्रदायहरूबीचको सुसम्बन्धमा खलल पारेर राज्यविरुद्धको कसुर गरेको अभियोग छ । उहाँहरू फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि मङ्सिर १० गतेको इजलासले नै उहाँहरूलाई उपस्थित गराउनु भनी ३५ दिने ’वारेन्ट’ जारी गर्न आदेश दिएको थियो ।

पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैँ उपस्थित हुन सूचनामा भनिएको छ । म्याज गुजारी बसेमा मुद्दा कानुनबमोजिम हुने र पछि उजुरबाजुर नलाग्ने पनि सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update