नवलपरासी । प्रकृतिबाट लोप हुने अवस्थामा पुगेका गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोतीमा स्थापनामा गरिएको जटायु (गिद्ध) रेष्टुरेन्टका कारण गिद्धको सङ्ख्यामा वृद्धि भएको छ ।
गिद्ध संरक्षण गर्न भन्दै एसियामै पहिलोपटक समुदायस्तरबाट सन् २००६ मा सुरु गरिएको रेष्टुरेन्टका कारण यस क्षेत्रमा गिद्धको सङ्ख्यामा चार सय प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ । जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष तथा संरक्षणकर्मी डिबी चौधरीले पछिल्लो गणनाअनुसार यहाँ ५ सय १७ वटा गिद्ध भेटिएको बताउनुभयो । समुदाय, सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको सहयोगका कारण गिद्ध संरक्षणको अभियान सफल भएको उहाँको भनाइ छ ।
नेपालमा पछिल्लो समय अन्य छ ठाउँमा जटायु रेष्टुरेन्ट विस्तार गरिएको भन्दै चौधरीले अन्य ठाउँमा भारत र पाकिस्तानले समेत संरक्षणमा सहयोग पु-याएका बताउनुभयो । हालसम्म केन्द्रमा प्रजनन भएका ६९ वटा गिद्ध रेष्टुरेन्टमा ल्याएर छोडिएको उहाँले बताउनुभयो । त्यस्तै ७७ वटा जङ्गली प्राकृतिक गिद्धमा पनि रेडियो कलर लगाएर अध्ययन गरिएको उहाँको भनाइ छ । जटायु रेष्टुरेन्टमा छोडिएको गिद्ध खानाका लागि प्रतिदिन दुई सय किलोमिटरसम्म उडेको अध्ययनले देखाएको उहाँले बताउनुभयो । केन्द्रमा प्रजनन भएर रेष्टुरेन्टमा ल्याइएको र यहाँको प्रकृतिमा हुर्किएका गिद्धहरुले मिलेर प्रजनन गर्न सुरु गरेको चौधरीले बताउनुभयो । प्रजननयोग्य गिद्धको एक वर्षमा एउटा प्रजनन अवधि हुने र एउटा मात्रै फूल पार्ने उल्लेख गर्दै उहाँले भाले र पोथी दुवै मिलेर बच्चा कोरल्ने बताउनुभयो ।
गिद्धको संरक्षणलाई दीगो बनाउन र छाडा गाईबस्तुमुक्त क्षेत्र बनाएर समुदायलाई सहयोग गर्न रेष्टुरेन्टले गौशालासमेत निर्माण गरेको छ । रासस