RayNewsDaily
आयोजनाको सबै विवरण एकै ठाउँमा ल्याउन एकीकृत सूचना प्रणाली विकास गरिने   

काठमाडौं । सरकारले निर्माण व्यवसायलाई सक्षम, पारदर्शी र व्यवस्थित बनाउन एकीकृत सूचना प्रणाली विकास गर्ने भएको छ ।    
    
 अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै निर्माण व्यवसायीले मुलुकभर लिएको ठेक्का सम्झौताको विवरण र कार्य प्रगतिको आवधिक विवरण एकीकृत रूपमा प्राप्त हुने गरी सूचना प्रणाली विकास गरिने बताउनुभयो ।    
    
 यस प्रणालीका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सम्झौताको प्रगति अनुगमन गर्नेछ । अनुगमनबाट गम्भीर प्रकृतिका लापरबाही देखिएमा सम्बन्धित आयोजनाले पेश गरेको प्रतिवेदन समेतका आधारमा निर्माण व्यवसायीको इजाजतपत्र रद्दसम्मका कारबाही गर्न सकिने गरी कानुनी व्यवस्था गरिने उहाँले बताउनुभयो ।    
    
 सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आगामी आर्थिक वर्षको बजेट तयार भएको बताउनुभयो ।    
    
साथै सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोगविहीन अवस्थामा रहेका गाडीलाई छ महिनाभित्रमै लिलामी गर्ने भएको छ । सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधनलगायत सामान छ महिनाभित्र लिलाम गरिने बताउनुभयो ।    
    
 त्यसैगरी सरकारले सरकारी सवारी साधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न इन्धनको सट्टा नगद नै प्रदान गर्ने भएको छ ।    
    
अर्थमन्त्री महतले सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई सवारी साधनको सट्टा तोकिएको मापदण्डको आधारमा एकमुष्ट रुपमा नगदै प्रदान गर्ने व्यवस्थाको सुरुआत गरिने बताउनुभयो । 

सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको आधारमा इन्धन वापत नगद नै दिइने भएको हो ।    
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update