रे समाचार/काठमाडौं । एक सातादेखि लगातार बढ्दो क्रममा रहेको शेयर बजार मापक नेप्से सूचक आज पनि उच्च अंकले बढेर बन्द भएको छ । आज शेयर बजार मापक नेप्से सूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेको छ । एक हप्तामा नेप्से सूचक १९३ अंकले वृद्धि भएको छ।
नेप्से सूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ । कारोबार रकमले आज पछिल्लो एक वर्षयताकै रेकर्ड तोडेको छ ।आज ७ अर्ब ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज लगानी र उत्पादनमूलक उपसमूहको कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज लगानी तथा प्रशोधन उपसमूहको सूचक ७.१५ प्रतिशतले बढेको छ, जसमा तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । निर्जीवन बीमा र होटल उपसमूहको सूचक भने नकारात्मक देखिएको छ।
आज १५ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ । ११ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ४ कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । नेरुडे लघुवित्तको शेयरमूल्य ३.६५ प्रतिशतले घटेको छ भने माथिल्लो मैलुङखोला जलविद्युतको ३.६४ प्रतिशत र शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको ३.४५ प्रतिशतले घटेको छ।
आज शिवम् सिमेन्टको सबैभन्दा धेरै ३७ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने सोल्टी होटलको २४ करोड ५३ लाख र सोनापुर मिनिरल्सको २० करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।