RayNewsDaily
शेयर बजारमा ३२ अंकको करेक्सन

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्ला ७ कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको शेयर बजार मापक नेप्सेमा आज भने करेक्सन भएको हो । अघिल्ला ६ कारोबार दिनमा नेप्से परिसूचक १९२.६७ अंक बढेको छ । सोही मौकामा अल्पकालीन लगानीकर्ताहरूले नाफा बुक गर्दा आज बजारमा करेक्सन देखिएको हो ।

आज नेप्से परिसूचक ३२.७७ अंक घटेर २१०९.१० विन्दुमा झरेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ । हिजो ७ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

नेप्से घटेपनि १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । अन्य दुई स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने ३ स्टकको मूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज शेयरमूल्य घट्ने स्टकहरुको सूचीको शीर्ष स्थानमा सूर्या ज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको शेयरमूल्य करिब साढे ७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सोनापुर मिनरल्स एण्ड आयलको २५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने अन्य ११ उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.३६ प्रतिशत र व्यापार उपसमूहको परिसूचक ०.५६ प्रतिशत बढेको हो । विकास बैंक उपसमूहको परिसूचक आज सर्वाधिक ३.२३ प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update