
रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिनदेखि शेयर बजारमा सुरु भएको करेक्सनले आज पनि निरन्तरता पाएको हो । आज शेयर बजार मापक नेप्से परिसूचक २१.०३ अंक घटेर २०८८.०७ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । गत विहीवार ६ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने दुई वटा स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज ज्योति विकास बैंकको ऋणपत्र र नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत घटेको छ भने हाथवे इन्भेष्टमेन्ट र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ३० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, हाथवे इन्भेष्टमेन्टको २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्सको २८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । आज जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक बढेको छ । लगानी उपसमूहको परिसूचक आज सर्वाधिक ३.८९ प्रतिशत घटेको छ ।