RayNewsDaily
प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको जित   

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगितामा कर्णालीलाई ३० रनले पराजित गरेको छ । जितका लागि १ सय ३४ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रनमा समेटियो ।    
    
कर्णालीका लागि गौरी बोहराले २२ बलमा २ चौकासहित सर्वाधिक २२ रन बनाइन् । त्यस्तै, यमुना थारुले २९ बलमा ४ चौकासहित २१ रन बनाइन् । अञ्जु गुरुङ ६ बलमा ३ चौकासहित १३ र रश्मी खड्का ११ रनमा नट आउट रहिन् । तृर्सना विश्वकर्माले ८, कप्तान किरण कुँवरले २ र बीना थापा ४ रनमा आउट भइन् ।    
    
लुम्बिनीकी सरस्वती पुन र कृतिका मरासिनीले समान दुई/दुई विकेट लिए भने शर्मिला रोका र चमेली चौधरीले समान एक/एक विकेट लिए ।    
    
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो ।    
    
लुम्बिनी प्रदेशकी कप्तान सरस्वती गङ्गा मगरले ६२ बलमा ७ चौकासहित ५३ रन बनाइन् । चमेली चौधरीले २२ बलमा २ चौकासहित १८ रन बनाइन् । सरस्वती पुनले ३ र मधु डिसीले २ रन बनाए । कर्णालीका लागि यमुना थारु, रश्मी खड्का र तृर्सना विश्वकर्माले समान एक/एक विकेट लिए ।    
    
लुम्बिनीको यो दोस्रो जित हो । लुम्बिनीले पहिलो खेलमा गण्डकीलाई ४ विकेटले हराएको थियो । यता कर्णालीको यो लगातार चौथो हार हो । कर्णाली यसअघि कोशीसँग १० विकेट, गण्डकीसँग ४४ रन र सुदूरपश्चिमसँग ८१ रनले पराजित भएको थियो । रासस

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update