RayNewsDaily
शेयर बजारमा सामान्य गिरावट

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंक घटेर बन्द भएको छ । गत साताको बिहीबारदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक १.९३ अंक घटेर २०६८.९० विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज ४ अर्ब २९ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेप्से घटे पनि आज ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भिजन लुम्बिनी ऊर्जा, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, मनकामना इन्जिनियरिङ्ग र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । धौलागिरी लघुवित्त र बिपिडब्लु लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १४ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्स र घोराही सिमेन्ट्सको १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

आज १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update